प्रचण्डको निर्देशन- हामीले बाचा पूरा गर्न सकेनौं, एकपटक अवसर दिनुहोस् भन्दै जनतामा जानुस्

admin

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले माओवादीलाई विश्वास गर्ने आधार तयार हुँदै गएको बताउनुभएको छ ।

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि बुधबार काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफु नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्ष गरेको काम र नयाँ सरकार बन्नुको कारणबारे जनताले स्पष्ट रुपमा बुझिसकेको भन्दै जनताले माओवादीदलाई विश्वास गर्ने आधार तयार हुँदै गएको बताउनुभएको हो ।

उहाले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गर्नुभयो ।

कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र बिद्रोहको केन्द्र भएको उल्लेख गर्दै प्रचण्डले आगामी दिनमा यसलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो । प्रचण्डले चूनावी सभा आयोजना गर्नुभन्दा जनताको घर–घरमा जान निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रले कीर्तिपुरको प्रमुखका लागि प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि ईञ्जिनियर नारायण बिष्टलाई उम्मेदवार घोषणा गरेको थियो ।

 

प्रतिक्रिया