खुल्यो धरहरा : प्रतिव्यक्ति २ सय तिरेर चढ्न पाइने

admin

काठमाडौं । काठमाडौंको सुन्धरामा रहेको धरहरा आइतबारबाट सशुल्क खुला गरिएको छ । केहिसमयअघि निशुल्क रुपमा धरहरा चढ्न सक्ने व्यवस्था भएपनि आइतबारबाट सशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको हो ।

धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट पाउने छन् । सार्क मुलुकका नागरिकलाई ५ सय, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ भने धरहरा परिसरमा मात्रै प्रवेश गर्नका लागि ५० रुपैया तोकिएको छ । धरहरा पुन खुला भएसंगै टिकट काटेर धरहरा चढ्नेको घुइचो लागेको छ ।

धरहरा हेर्न पुगेका सर्वसाधारणहरुले नयाँ बनेको धरहरा चढ्न सहज भएको भन्दै खुसी व्यक्त गरेका थिए । त्यस्तै केहिले टिकट व्यवस्थापनलाई सहज गर्न र टिकट दर घटाउन सुझाव दिएका थिए ।

भुकम्पपछि निर्माण गरिएको धरहरा गत असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो । सञ्चालनमा ल्याएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएर बन्द भएको धरहरा पुनः शुल्कसहित सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया