काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न विश्वलाई नै ध्यानाकर्षण गर्नेगरि कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेसको वातावरण तथा जलवायू परिवर्तन सरोकार विभागले शुक्रबार सानेपामा आयोजना गरेको वन, वातावरण तथा जलवायू परिवर्तन सरोकार बिषयक कार्यक्रममा सभापति देउवाले जलवायु परिवर्तनले नेपाललाई ठूलो असर पर्ने देखिएको भन्दै यसलाई न्यूनिकरण गर्न विश्वलाई नै ध्यानाकर्षण गर्नेगरि कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको हो ।
जलवायु परिवर्तनको सवै भन्दा ठूलो असर नेपालमा देखिएकाले यसमा बिशेष ध्यान दिएर अघि बढ्नुपर्ने उहाले बताउनुभयो । उहाले नेपालले मात्र चाहेरमात्रै जलवायु परिवर्तनको समस्या समाधान हुन नसक्ने भएपनि काठमाडौंबाट सुधारको थालनी गर्न सकिने धारणा राख्नुभयो । सभापति देउवाले विद्युतिय सवारी साधनलाई प्रोत्साहन गर्न सके वातावरणको रक्षा हुने र विश्वलाई पनि सकारात्मक सन्देश दिन सक्ने बताउनुभयो ।
त्यस्तै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले छिटै सगरमाथा सम्वादको आयोजना गरेर नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याका बारेमा विश्वमाझ उजागर गर्ने बताउनुभयो । समग्र आर्थिक बृद्धिलाई वातावरणीय संरक्षणसंग सन्तुलनमा राख्दै र जलवायु परिवर्तनलाई सम्बोधन गर्दै जलवायुमैत्री विकास सम्भव रहेको उहाले बताउनुभयो ।
मन्त्री ठकुरीले कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगन्य भूमिका भए पनि जलवायु परिवर्तनका असरको जोखिम उच्च रहेकाले विश्वको ध्यानाकर्षण गराउनुपर्ने धारणा राख्नुभयो ।