परराष्ट्रमन्त्री भन्छिन् – विपिन सकुशल हुनुहुन्छ, रिहाइको लागि कतारका विदेशमन्त्रीसँग कुरा गर्दैछु

admin

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईका लागि पहल भइरहेको बताउनुभएको छ ।

सिहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशी सकुशल रहेको भन्दै रिहाईका लागि पहल भइरहेको बताउनुभएको हो ।

युद्धबन्दीलाई छाड्ने क्रममा विपिन जोशीलाई छाड्नका लागि आफुले कुटनीतिक तवरबाट पहल गरिरहेको उहाले बताउनुभयो । त्यस्तै उहाले रुस–युक्रेन युद्धमा फसेका नेपालीहरुलाई समेत सकुशल फिर्ता गर्नका लागि अनुरोध गरिएको जानकारी दिनुभयो ।

उहाले हालै प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई सम्झौतालाई ऋणलाई नभइ अनुदानमा अघि बढाउने सहमति भएको जानकारी दिनुभयो ।

पटक पटक अध्ययन गरेर बीआरआईलाई अघि बढाइएको भन्दै उहाले राष्ट्रहित अनुसार नै अघि बढाइएको दावी गर्नुभयो ।

त्यस्तै परराष्ट्रमन्त्री राणाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बैठक राख्न समेत पहल गरिरहेको तर भारतबाट सकारात्मक जवाफ नआएको जानकारी दिनुभयो । सार्कको मुख्य बैठक बस्न नसकेपछि अन्य क्रियाकलापहरु भने जारी रहेको उहाको भनाइ छ ।

प्रतिक्रिया