धरौटी बुझाएर रिहा भए रवि लामिछाने

admin

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गरेको छ ।

काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले

लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत आइतबार अदालतमा उपस्थित भएका लामिछानेको यसबीचमा बयान र थुनछेक बहस भएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

यसैबीच जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको छ । त्यसलगत्तै प्रहरीले उहालाई सुरक्षित स्थानतर्फ लगेको थियो ।

रास्वपाले पनि अदालत बाहिर अधिवक्ता वरिष्ठ त्रिपाठीमाथि हातपात भएको घटनाबारे राष्ट्रिय ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्रेस बिज्ञप्ती जारी गर्दै घटनामा पार्टीका कुनै सदस्यको संलग्नता भेटिए कारवाही गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया