सरकार निरंकुशतातर्फ अघि बढ्यो – महासचिव गुरुङ

admin

काठमाडौं । नेकपा माओवादीका महासचिव देव गुरुङले सरकार निरंकुशतातर्फ अघि बढेको बताएका छन् ।

पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले अलोकतान्त्रिक शैलीमा अध्यादेश ल्याएको भन्दै महासचिव गुरुङले आपत्ति जनाए । उनले सरकारले मुलुकको लोकतान्त्रिक विधि र पद्धतिलाई उलंघन गर्दै अध्यादेश जारी गरेको जिकिर गरे ।

उनले अहिले संसद नबोलाएर अध्यादेश ल्याउनुपर्ने कुनै कारण नभएको भन्दै कुनै पनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए ।

उनले सदनमा विचाराधिन अवस्थामा रहेको विधेयकका बारेमा सरकारले अध्यादेश ल्याउन पाउँछ की पाउँदैन भन्दै प्रश्न गरे । महासिचव गुरुङले गिरीबन्धु टि—स्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको नियतमा शंका पैदा भएको बताए ।

उनले पछिल्लो समय भ्रष्टहरूलाई संरक्षण गर्ने र बचाउने काममा सरकार लागेको आरोप समेत लगाए । सुशासन र मुलुकको स्वाधीनताको रक्षाका लागि पक्ष र विपक्ष दुवै एक ढिक्का भएर जानुको विकल्प नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया