भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु झन्झट रहित बनाउन उद्योगी व्यवसायीहरुको आग्रह

admin

काठमाडौं । उद्योगी व्यवसायीहरुले भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै उद्योगी व्यवसायीहरुले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ति वस्तुलाई स्पष्ट गरी भन्सार दरहरुको पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने समेत बताएका छन् ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भन्सारका सबै गतिविधिहरुले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वस्थ्य व्यवसायिक वातावरण निर्माण गर्ने तर्फ निर्देशित हुन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष ढकालले भन्सार प्रशासनलाई अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राहीप्रति उत्तरदायी बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप नयाँ भन्सार विधेयक संसदमा टेवल हुन लागेको विषय सकारात्मक रहेको बताउनुभयो । निर्माणाधिन आइसिपीहरूको छिटो निर्माण सम्पन्न गर्ने र अन्य ठुला र महत्वपूर्ण भन्सार कार्यालयहरुमा थप पुर्वाधारहरुको विस्तारमा समयमै ध्यान दिनुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले राष्ट्रिय नीति उद्योग व्यवसायको प्रवद्र्धन भएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल उच्च राख्ने गरि नै भन्सार प्रशासनले काम गरिरहेको बताउनु भयो । उहाँले भन्सार प्रसाशन अन्तर्राष्ट्रिय भन्सार संगठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजिकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्ने गरि नै अगाडि बढिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया