काठमाडौं । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले वर्तमान सरकारले जनताको अपेक्षा पुरा गर्न सक्नुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै महतले ठूला दल मिलेर बनेको सरकारप्रति जनताको धेरै आशा रहेको भन्दै जनताको आशा पुरा गर्न खरो रुपमा उत्रनुपर्ने बताउनुभएको हो ।
पार्टी भन्दा माथि उठेर सरकारले काम गर्न सक्नुपर्ने उहाले बताउनुभयो । उहाले पदबाट बाहिर निस्केपछि प्रचण्डले सदनमा आक्रोश व्यक्त गरेका टिप्पणी गर्नुभयो ।
एकदलीय व्यवस्था स्थापीत गर्न माओवादीले युद्ध लडेको भन्दै उहाले सवैको पहलका कारण माओवादी बहुदलीय व्यवस्थामा आएको जिकिर गर्नुभयो । उहाले लगानी बढाउनका लागि नै सरकारले अध्यादेश ल्याएकाले सवै एकमत हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै एमाले सांसद रघुजी पन्तले तथ्यका आधारमा सरकारको विरोध गर्न प्रतिपक्षीलाई सुझाव दिनुभयो । उहाले संसदमा प्रचण्डले दिएको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित रहेको जिकिर गर्नुभयो ।
सत्य र तथ्यका साथै जनताको आकांक्षामा माओवादी पार्टी देखा पर्न नसकेको उहाले बताउनुभयो । उहाले सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कुनै कारण नरहेको धारणा राख्नुभयो ।