काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आफुले सामाजिक सञ्जालमा लेखेको बिषयलाई दिएर खेद प्रस्ताव पारित गर्नु अभिव्यक्ति स्वतन्त्रताको बिपरित भएको टिप्पणी गर्नुभएको छ ।
सोमबार संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद शाहीले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्नेगरि आफ्नो अभिव्यक्तिप्रति राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको भन्दै आपत्ति समेत जनाउनुभयो ।
यसअघि राष्ट्रियसभामा विधेयकहरुको छलफल सदस्यहरुले नबुझेको देखिएकाले थप अध्ययन गर्नका लागि आफुले सुझाव मात्र दिएको उहाले बताउनुभयो ।
उहाले आफु कुनै नेताको निगाहामा नभइ जनताबाट मत ल्याएर संसदमा आएको भन्दै जनताको मतको अपमान गर्ने काम समेत राष्ट्रियसभाले गरेको धारणा राख्नुभयो ।
यसअघि आइतबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभा नै वृद्धाश्रम भएको टिप्पणी गरेको भन्दै खेद प्रस्ताव पारित गरेको थियो ।