कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सुस्त

रिता घिसिंग

ललितपुर, ९ वैशाख (रासस) : पाटनको प्रसिद्ध कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सुस्त छ । मन्दिर निर्माणका लागि भएको ठेक्का सम्झौताको अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिने देखिएको छ ।

दुई वर्षमा निर्माण सक्ने योजनामा मन्दिरको पुनःनिर्माण शुरु भएकामा त्यो सकिएर अर्काे छ महीना थप भएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । थप भएको अवधि असारमा सकिने भए पनि त्यतिबेलासम्म काम सकिने नदेखिएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो ।

असारसम्ममा ७५ देखि ८० प्रतिशसम्म सकिएमा त्यही ठेकेदारलाई निरन्तरता दिने अन्यथा विकल्प खोज्ने योजना रहेको उहाँले बताउनुभयो । “समयमा नसकिए पनि काम नियमितरूपमा भइरहँदा हामी केही समय थप्न सक्छौँ”, उहाँले भन्नुभयो, “अझै ढिलासुस्ती हुँदा विकल्प पनि खोज्नुपर्ने हुनसक्छ ।”

पाँच तले उक्त मन्दिरको पहिले पुनःनिर्माण कसरी गर्ने भन्नेमा नै विवाद रहेको थियो । मन्दिर पूरै भत्काएर गर्ने कि माथिल्लो तलामा मात्रै काम गर्ने भन्ने विवाद रहेकामा माथिल्लो तलामा मात्रै काम गर्ने सहमतिपछि मात्रै ठेक्का आह्वान भएको प्रमुख प्याकुरेलले बताउनुभयो ।

त्यस्तै, मन्दिर भत्काउँदा त्यहाँ रहेका सामग्रीको सुरक्षाका विषयमा समेत स्थानीयवासी चिन्तित थिए । अहिले मन्दिरको पाँचै तलामा गारोमा मर्मतको काम भइरहेको छ भने माथिल्लो तीन तलामा मात्रै काठको काम भइरहेको छ । उहाँले भन्नुभयो, “हामीले मन्दिरको क्षति पुगेका भागमा आवश्यक काम गरिरहेका छौँ ।”

बङ्गलामुखी मन्दिरसँगै रहेको यो मन्दिरमा प्रत्येक सोमबार दशनार्थीको घुइँचो लाग्ने गरेको छ ।

ललितपुर महानगरपालिकामा भवन अभाव
जिल्लाका विषयगत कार्यालयका कर्मचारी समायोजन भएर आइरहे पनि ती कार्यालयका भवन नहुँदा ललितपुर महानगरपालिकामा भवन अभाव रहेको छ । कर्मचारी आइरहे पनि भवन पर्याप्त नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठीन रहेको महानगरले जनाएको छ । महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

उहाँका अनुसार विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन भएर आएका छन् । महानगरपालिकामा पहिले नै झण्डै तीन सय कर्मचारी कार्यरत थिए । एकातिर पहिलेबाट नै भवन अभाव रहेकामा महानगरमा नयाँ कर्मचारी आएपछि भवन अभाव अझै बढेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सम्बन्धित निकायसँग भवनका लागि माग गरिरहेका छौँ ।” महानगरपालिकाको पुल्चोकस्थित मुख्य भवन बाहेक छ्याबहालस्थित समाज कल्याण भवन र पुल्चोकस्थित विपत् व्यवस्थापन भवन गरेर तीन वटा भवन रहेका छन् । ती तीन भवन मात्रै पर्याप्त नभएकाले थप भवनका लागि माग भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु भवन पनि मातहतमा आएपछि नै कार्यसम्पादन सजिलो हुनेछ ।”

महानगरपालिकाका दश वटा वडामा कार्यालय भवन छैनन् । तीमध्ये पाँचमा गत वर्षदेखि निर्माण शुरु भइसकेको छ ।

प्रतिक्रिया