दुवै मिर्गाैला फेल भएका बुद्धिप्रसादद्वारा सहयोगको याचना

मनिषा थापा

पर्वत, ३ असार : दुवै मिर्गाैला फेल भएपछि पर्वतका एक युवकले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन्। पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित अर्घसेका बुद्धिप्रसाद सुवेदीको दुवै मिर्गाैला फेल भएपछि अहिले जीवनमरणको दोसाँधमा छन्।

विपन्न परिवारका उनको उपचारमा आर्थिक अभाव हुँदा समस्या परेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण लामो समय रोजगारीका लागि भारतमा रहेका सुवेदी अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

उनी रोजगारीको सिलसिलामा विगत २६ वर्षदेखि भारतको नयाँदिल्लीमा बस्दै आएका थिए । दुवै मिर्गाैला फेल भएपछि उनी अहिले नेपाल आएका छन् । उनका एक छोरी र दुई छोरा छन् । कमाउने मान्छे नै बिरामी भएर थला परेपछि अहिले उनको परिवारमा ठूलो आर्थिक सङ्कट परेको छ ।

सुवेदीले विगत एक महीनादेखी पोखरा तथा काठमाडौँका विभिन्न अस्पतालमा मिर्गाैलाको उपचार गराइरहेका छन् । सुवेदीकी श्रीमती लक्ष्मी सुवेदीले आफ्नो मिर्गाैला दिएर बचाउँछु भन्दा पनि प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन नसक्दा समस्या परेको गुनासो गर्नुभयो । लक्ष्मीले भन्नुभयो, “मेरो मिर्गाैला दिएर श्रीमान्लाई बचाउँछुभन्दा पनि पैसाको अभाव भयो ।’

आर्थिक अवस्था कमजोर भएका कारण श्रीमान्को उपचारमा समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कसैले सहयोग गरेमा उहाँले पुनःजन्म पाउनुहुन्थ्यो ।” एक महीनाको अवधिमा कमाएको सबै पैसा सकिएपछि अब घर फर्किएर मृत्यु कुर्नुको विकल्प नरहेको आफन्तले बताएका छन् ।

बुद्धिप्रसाद सुवेदीलाई सहयोग गर्न चाहनेले कृषि विकास बैंकको खाता नं ०३१६४०१४३६४१८०१५ मा रकमा जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ । उनको जीवनरक्षाका लागि विभिन्न सङ्घसंस्था, सरकारी निकाय र आफन्तलाई सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । (रासस)

प्रतिक्रिया