द्विपक्षीय साझेदारी थप घनीभूत तुल्याउने प्रयास

कृष्ण रोकाया

काठमाडौँ, ३ माघ  : नेपाल र बङ्गलादेशले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट द्विपक्षीय साझेदारीलाई थप घनीभूत तुल्याउने प्रयास गरेका छन् ।

दुवै देशका आधिकारिक समाचार समितिबीचको सहकार्य र साझेदारीबाट सरकारी र जनस्तरको पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास भएको हो । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स र राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, महाप्रबन्धक ओेपेन्द्र शर्मालगायत राससको उच्च व्यवस्थापनबीच करीब पाँच दशक पुरानो नेपाल–बङ्गलादेश सम्बन्धलाई दुवै देशका समाचार समितिका माध्यमबाट नयाँ उचाइमा पु¥याउन सकिने विषयमा छलफल भयो ।

राजदूत शाम्सले बङ्गलादेशको सरकारी समाचार समिति बङ्गलादेश सङ्गबाद संस्था (बिएसएस) र राससबीचको समाचार र सूचना आदान प्रदानबाट दुवै देशका जनतालाई निकट ल्याउनका साथै एकअर्कालाई दुवै संस्थाले सेतुको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

“वर्षेनी ३० हजार बङ्गलादेशी पर्यटकले नेपाल भ्रमण गर्दै आएका छन्, सतहमार्गबाट सार्कका सदस्य देशलाई जोड्ने ‘मोटर भिएकल एग्रिमेन्ट’ हुनसके व्यापार विस्तारसँगै दुवै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्थ्यो”, राजदूत शाम्सले भन्नुभयो । उहाँले बिएसएस र राससबीचको कार्यगत साझेदारीलाई अझ व्यवस्थित एवं परिणाममुखी बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष श्यामलले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापक मुलुक नेपाल र बङ्गलादेशका जनताबीच धेरै समानता रहेको र उनीहरूमा एकअर्काबारे जान्ने उत्सुकता रहेको बताउँदै दुवै देशका आधिकारिक समाचार समितिको साझेदारीले उनीहरूका आकांक्षा पूरा गर्न मद्दत मिल्ने यथार्थ प्रस्तुत गर्नुभयो ।

बदलिँदो परिवेशमा रासस र बिएसएसबीचको साझेदारीलाई परिभाषित गर्नुपर्ने अपरिहार्यतामा जोड दिँदै उहाँले समाचारको आदानप्रदानबाट केही हदसम्म दुवै देशका जनताको सूचना, जानकारी र ज्ञानको भोक मेटिने बताउनुभयो । रासस

प्रतिक्रिया