राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य

शर्मिला गुरुङ

तुलसीपुर, २५ मङ्सिर : विसं २०५९ मा शान्तिको कामना गर्दाै निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको छ ।

वनभोज खानेदेखि सबै उमेर समूहका मानिसहरुका लागि शान्ति उद्यानमा अवलोकन र मनोरञ्जन लिन आउने गरेका छन् । उद्यान व्यवस्थापनका अनुसार त्यहाँ दाङका साथै छिमेकी जिल्लाबाट समेत वनभोज तथा अवलोकनका लागि मानिसहरु आउने गरेका छन् ।

उद्यानमा सार्वजनिक बिदाको दिन कम्तीमा ३०÷३२ वटा टोली वनभोजका लागि आउने गरेका छन् भने अन्य दिनमा पनि १० वटा १२ टोली वनभोजका लागि आउने गर्दछन् । उद्यानमा पकाउने तथा खाने भाँडावर्तनदेखि इन्धनका लागि दाउरा र ग्यासको समेत व्यवस्था समितिले गरेको छ । सामुदायिक वनको करीब १५ बिगाहा क्षेत्रफलमा फैलिएको शान्ति उद्यान सुरक्षाको दृष्टिले पनि ढुक्क छ ।

चारैतिर तारबारले घेरिएको छ । चराचरुङ्गीको मधुर स्वर र प्राकृतिक एवं जैविक विविधताले भरिएको उद्यानमा बाल उद्यानदेखि वनस्पति र फूलहरुका बगौँचा समेत रहेका छन् । त्यहाँ बाँदर, उल्लु, स्याल र कछुवा तथा बालबालिका लागि मिनी रेल समेत सञ्चालनमा आएको छ ।
मनोरन्जनका लागि डुङ्गा, स्नान गृह, आधुनिक पिङ्ङलगायतका मनोरञ्जनका साधन निर्माणाधीन अवस्थामा रहेका छन् । ‘‘सानो चिडियाखानाको निर्माण गर्ने तयार गर्दैछौँ, यो वर्ष केही जनावर ल्याउने प्रक्रियामा छौँ’’, पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भन्नुभयो, “पार्कलाई थप व्यवस्थित बनाउन दुर्लभ जडीबुटी उद्यानको समेत निर्माण हुने गरी गुरु योजना बताएको छ ।

अध्यक्ष भण्डारीका अनुसार चालु आर्थिक वर्षमा भने पार्कको स्तरोन्नतिका लागि राज्यको सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुनै पनि बजेट दिएको छैन । गुरुयोजनामा राप्ती शान्ति उद्यानलाई नेपालकै पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्ने योजना पनि समितिले अघि सारेको छ । रासस

प्रतिक्रिया