स्याफ्रु–मैलुङ राजमार्ग सञ्चालनमा

admin

रसुवा, १२ चैत : निर्माण भएको एक वर्षपछि स्याफ्रु–मैलुङ सडकखण्ड सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गल्छी, त्रिशूली, मैलुङ र स्याफ्रुवेंशी सडक सुधार आयोजनाले सडकका अवरोध हटाएलगत्तै उक्त नयाँ राजमार्गमा पूर्णरूपमा सवारी साधन ओहोरदोहोर गराइएको हो ।

राजमार्ग सुधारका कदम अगाडि बढिरहेकाले केरूङबाट सामान बोकी आएका मालवाहक सवारीसाधन मात्र स्याफ्रुबाट मैलुङ हँुदै बेत्रावतीतर्फ आउन पाउने र काठमाडाँैबाट सामान लिन केरूङ जाने ट्रक तथा कन्टेनर भने बेत्रावती, कालिकास्थान धुञ्चेतर्फको पासाङल्हामु मार्ग प्रयोग गर्नुपर्ने तालिका निर्धारण गरिएको बताइएको छ ।

 

धुञ्चे पुछार त्रिशूली नदीमा पक्कीपुल निर्माण गर्न बाँकी भएका कारण नदी किनारको नयाँ सडक यो आर्थिक वर्षसम्म मात्र सञ्चालन हुने र आगामी आर्थिक वर्षदेखि भने बाह्रै महीना सञ्चालन हुने सडक प्राविधिकले बताएका छन् ।

गल्छीदेखि बेत्रावती, मैलुङ हुँदै स्याफ्रुवेंशीसम्मका राजमार्गमा सुधारका कार्य भइरहेको र मैलुङदेखि स्याफ्रुवेंशीसम्मको १७ किलोमिटरको नयाँ राजमार्ग भने माथिल्लो निकायको निर्देशन, स्थानीयवासी एवं राजनीतिक दलसमेतको चाहनाअनुरूप निर्माण सुधारका साथसाथै यातायात सञ्चालन गरिएको सडक सुधार आयोजनाले जनाएको छ । नयाँ राजमार्गको हाकुवेंशी क्षेत्रमा सडक प्रहरी विट स्थापना गरिसकिएको जानकारी गराउँदै प्रजिअ पौडेलले गैरकानूनी क्रियाकलाप रोक्न सुरक्षा गस्तीसमेत परिचालन गरिएको बताउनुभयो ।
-रासस

प्रतिक्रिया