हिमतालको शेयर बुटवलले किन्यो

admin

काठमाडौँ, १७ पुस: बुटवल पावर कम्पनीले ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको १९ दशमलव चार प्रतिशत शेयर खरीद गरेको छ । कम्पनीले हिमताल हाइड्रोको नाममा रहेको शेयर खरीद गरेको र सोको जानकारी आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले हिमतालको नाममा रहेको छ लाख एक हजार ३०० कित्ता शेयर सोमबार बुटवल पावरको नाममा कायम भएको स्टकलाई जानकारी गराउनुभएको छ ।

हिमताल हाइड्रो र भारतीय कम्पनीका नाममा रहेको सो आयोजनाको शेयर गत वैशाख २३ गते नै बिक्री भएकोसमेत प्रमुख कार्यकारी निर्देशक श्रेष्ठले स्टकलाई उपलब्ध गराएको पत्रमा उल्लेख छ ।

आयोजना लिने र काम नगरीकन शेयर स्वामित्व मात्रै बिक्री गर्दै आएको भन्दै संसद्को अर्थ समितिमा समेत सो विषयले प्रवेश पाएको छ । आयोजनाको काम अगाडि बढाउनुभन्दा शेयर स्वामित्व हस्तान्तरण भएको विषयमा अर्थ समितिले अर्थ मन्त्रालय, लगानी बोर्डलगायतका निकायसँग यसअघि नै छलफल गरेको थियो ।
-रासस

प्रतिक्रिया