काठमाडौं, २६ चैत : नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग दल भइसके पनि संसदीय समितिमा नेकपा नै रहेको भन्दै एमालेले विरोध जनाएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमालेका सांसद खगराज अधिकारीले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी बिउँतिएर पुरानै संरचनामा काम भइरहे पनि संसदीय समितिमा अझै नेकपाकै सांसदको रूपमा रहन बाध्य भएको भन्दै आपत्ति जनाएका हुन् ।
अब संसद्ले नेकपालाई नचिन्ने भएकाले आफूहरूलाई संसदीय समितिमा एमालेकै दर्जामा राख्न पनि अधिकारीले माग गरे । नेकपा नै नरहेकाले नेकपाको नाममा हुने निर्णयमाथि कानुनी प्रश्न उठ्न सक्ने भन्दै आफूहरूलाई एमालेकै सांसदका रूपमा काम गर्न दिन पनि अधिकारीले माग गरेका छन् । यस्तै बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न क्षेत्रका समस्या तथा सरकारको समर्थन र आलोचना गरेका छन् ।