काठमाडौं, १ भाद्र : नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसद विरोध खतिवडाले दल फुटाउन सहज हुने अध्यादेश आइसकाले आवश्यकता अनुसार नयाँ दल दर्ता गर्ने बताएका छन्।
सरकारले सोमबार संसद अधिवेशन अन्त्य गरेर एमाले फुटाउने योजनासहित राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेता खतिवडाले ढिलोचाँडो नयाँ दल दर्ता हुने उल्लेख गरे।
सरकारले ल्याएको अध्यादेशको कांग्रेसकै नेताहरु र एमालेसहितका दलहरुले चर्को विरोध गरिरहेका छन्। तर नेता नेपालसँग बालुवाटार भएको सहमति अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएका हुन्।
एमालेले अध्यादेशको विरोध गरिरहेका बेला नयाँ पार्टीका लागि नेपाल समूह भने तीव्र छलफलमा जुटेका छन्। नेता नेपालले सिंहदरबारमा आजै नयाँ दल दर्ताबारे आफूपक्षीय नेता र सांसदसँग छलफल गरे। नेता नेपालले मंगलबार सिंहदरबार र नयाँबानेश्वरको अर्याल होटलमा साउन ३ मा देउवालाई विश्वासको मत हालेका २२ सांसदसँग संवाद गरेका थिए।
नेपाल पक्षको छलफलमा सहभागी एकजना सांसद विरोध खतिवडाले अध्यादेश आएपछि अगाडि बढ्ने सम्भावित रणनीतिबारे परामर्श भइरहेको बताएका छन्।
‘सरकारले अध्यादेश ल्याएपछि केपी ओली गुटको बैठकले २ सय ६० जना केन्द्रीय सदस्य बनाएर पठाएको खबर आएको छ’, उनले भने, ‘नयाँ पार्टी निर्माणका लागि थप पाइला चाल्ने विषयमा हामी छलफलकै चरणमा छौँ।’