justnep single

अन्तत: सयौँ कार्यकर्तासहित नेता पौडेलद्वारा पुलको उद्घाटन

admin

तनहुँ, १८ मंसिर : बुधबार तनावपूर्ण बनेको तनहुँ अहिले शान्त बनेको छ । स्थानीय विकास मन्त्रालयमार्फत २०७३ बैशाखमा सम्झौता भएर २०७५ कात्तिक ९ गते निर्माण सम्पन्न भएको पुल निर्माणमा आफूहरुको महत्त्वपूर्ण हात रहेको दाबी गर्दै नेपाली कांग्रेस र नेकपाका नेताहरुबीच विवाद हुँदै आएको थियो ।

बिहीबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गरेका छन् । बिहीबार नेता पौडेलसहितका जिल्ला नेता र सयौँ कार्यकर्ता सरकारविरुद्ध चर्को नाराबाजी गर्दै बुल्दी खोलामा पुगेका छन् ।

अहिले पुलको नजिकै आमसभा भइरहेको छ, सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पुल निर्माण गरेको निकायले उद्घाटनमा रोक लगाउन माग गर्दै जिल्ला प्रशासनलाई पत्र लेखेपछि प्रशासनले बुधबार पुल उद्घाटनमा रोक लगाएको थियो ।

तर कांग्रेस वरिष्ठ नेता पौडेलले जसरी पनि पुल उद्घाटन गरेरै छाड्ने अडान लिएपछि बुधबार अवस्था तनावपूर्ण बनेको थियो, प्रशासनले दिउँसो १२ देखि बेलुकी ६ बजेसम्म निषेधाज्ञा नै जारी गरेको थियो ।

निधेषाज्ञा तोडेर पुल उद्घाटनको तयारी भए पनि नेता पौडेल पक्राउ परेका थिए । बुधबार प्रहरीले पक्राउ गरेर तीन घण्टा हिरासतमा राखे पनि पौडेलले बिहीबार पुल उद्घाटन गरेरै छाडे ।

प्रतिक्रिया