अब उड्ने छैनन् चिनियाँ जहाज, छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’

रबि धिताल

काठमाडौं, १९ साउन : सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् ।

बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने निर्णय गरेसँगै नेपाली आकाशमा चिनियाँ जहाजको उडानमा अहिलेलाई पूर्णविराम लागेको हो ।

आन्तरिक उडानमा पनि निगमलाई प्रतिस्पर्धी बनाउने र विकट क्षेत्रमा नियमित उडान गर्ने उद्देश्यसाथ २०७१ वैशाखमा निगमले चीनमै निर्मित ५६ सिट क्षमताका दुईवटा एमए ६० र १७ सिट क्षमताका चारवटा वाई १२ जहाज ल्याएको थियो ।

यसमध्ये एउटा एमए ६० र एउटा वाई १२ जहाज निगमको अनुदानमा र बाँकी चारवटा जहाज चीनकै एक्जिम बैङ्कसँग ऋण लिएर निगमले साढे चार अर्ब रुपियाँमा खरिद गरेको थियो ।

पहिलोपटक २०७१ वैशाखमा चिनियाँ जहाज भित्रिएदेखि नै बारम्बारको प्राविधिक समस्या र आर्थिक भारका कारण निगमले यसको नियमित उडान गराउन भने सकेको थिएन ।

पछिल्लोपटक निगमले यी जहाज सञ्चालनबाट वार्षिक ३० करोड रुपियाँ घाटा बेहोर्नुपरेको निष्कर्ष निकाल्दै अबदेखि सञ्चालनमा नल्याउने निर्णय गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

प्रतिक्रिया