काठमाडौं, १३ चैत : कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच भएको छलफलमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताए । सार्वजनिक यातायात क्षेत्रमा शुक्रवारदेखि लागू हुने गरी अनिवार्य मास्क लगाउने, सिट क्षमताअनुसार यात्रु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि प्रजिअ पराजुलीले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्वसावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताए । सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए ।
कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाइ यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।