आजदेखि रसुवागढी नाका एकतर्फी रुपमा सञ्चालन

admin

रसुवा, १५ असोज : आइतबारदेखि बन्द भएको रसुवागढी नाका बिहीबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आउने भएको छ । चिनियाँ पक्षले नाकाभन्दा ५ सय मिटर पर गएको पहिरो हटाएर बिहीबारदेखि नाका सञ्चालनमा ल्याउने जनाएको छ ।

दुई देशमा अधिकारीहरु बीच बुधबार बसेको बैठकले एकतर्फी रुपमा नाका सञ्चालनमा ल्याउने सहमति गरेको हो । सहमति अनुसार बिहीबार पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याएर मितेरी पुलमा झार्ने छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तकाअनुसार आउँदो आइतबारदेखि सामग्री आयात बढ्ने छ ।

यसका लागि नेपाली पक्षले सामग्री झार्नका लागि अस्थायी संरचना बनाउने, स्वास्थ्य मापदण्डलाई पूर्ण कार्यान्वयन गर्ने लगायतका कार्य गर्नुपर्ने छ । गएको बुधबारदेखि एकतर्फी रुपमा सञ्चालन भएको नाकामा सामग्री आयात न्यून थियो । आइतबार पहिरो गएपछि चिनियाँ पक्षले आयात रोकेको हो ।

यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन । कोरोनाका जोखिमका कारण नेपालमा चिनियाँ सामग्री सिधैं आउँदैन । पहिले चीनको पाङसिङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेका भए पनि अहिले चिनियाँ ट्रकले मितेरी पुलमा ल्याएर झार्ने गरेका छन् ।

असोज १८ गतेदेखि भने चिनियाँ गाडीले नेपाली भू-भागमा नै सामग्री झारिदिने छन् । मितेरी पुलमा झारेको सामग्री नेपाली कन्टेनरले गएर ल्याउन पर्ने भएकाले समस्या हुँदै आएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।

प्रतिक्रिया