justnep single

आज देशकै ठूलो ढल्केबर सबस्टेशनको औपचारिक उद्घाटन हुँदै

admin

काठमाडौं, १९ माघ : देशकै सबैभन्दा ठूलो क्षमताको ढल्केबर सबस्टेशनको सोमबार औपचारिक उद्घाटन हुने भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले ढल्केबर सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहनेछ । अहिले ढल्केबरमा एक सय ६० एमभीएका दुई र तीन सय १५ एमभीएको एक गरी ६ सय ३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ ।

यस्तै कुल चार सय र दुई सय २० केभी क्षमताको सबस्टेशनमा तीन सय १५ एमभीए क्षमताका तीन वटा गरी नौ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् । यो सबस्टेशन अहिले सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो ।

सबस्टेशनमा जडान गरिएको तीन सय १५ एमभीएको थप पावर ट्रान्सफर्मरको गएको पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलता प्राप्त भएको बताएका छन् ।

देशभित्र नै पूर्व-पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्केबर सबस्टेशन ठूलो हब बनेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ ।

प्रतिक्रिया