आज फाल्गुनन्द जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

admin

काठमाडौँ, कात्तिक २५ : राष्ट्रिय विभूति एवं किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज मनाइँदै छ। १९४२ कात्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका–२ चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको सम्मान गर्दै उनको जन्मजयन्ती धुमधामका साथ मनाउने गर्दछन्।

फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

फाल्गुनन्दको उपदेश पालन गरे राष्ट्रिय एकतालाई सबल बनाउन सकिन्छ : राष्ट्रपति भण्डारी
​किरात धर्मावलम्बीहरुले फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, धनकुटा, संखुवासभा, मोरङ, सुनसरीका साथै किरात धर्मावलम्बी रहेका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष कात्तिक २५ गते उनी जन्मिएको पावन दिनका सम्झनामा जन्मजयन्ती मनाउने गर्दछन् ।

तर, यस वर्ष कोरोना संक्रमणको महामारीका कारण धेरै व्यक्ति भेला भएर जन्मजयन्ती मनाइने छैन । किरात धर्म तथा साहित्य उत्थान संघले किरात धर्मावलम्बीहरुलाई धेरै व्यक्ति भेला भएर जन्मजयन्ती नमनाउन अपिल गरेको छ ।

दोस्रो विश्व युद्धमा प्रत्यक्ष सहभागी भएका फाल्गुनन्द त्यहाँबाट फर्किएपछि जीवनको अन्तिमसम्म किरात मुन्धुम, भाषा, लिपिको प्रचारप्रचार तथा संरक्षणका लागि काम गरेका थिए।

यस्तै, संस्कार, संस्कृति र समाज सुधारका निम्ति निरन्तर काम गरेका थिए। फाल्गुनन्दले समाज सुधारका लागि वि.सं. १९८८ बैशाख २४ गते पाँचथरको लोब्रेकुटीमा विशाल भेला गराई ‘सत्यधर्म मुचुल्का’ नामक नीति बनाएका थिए। जुन अहिलेसम्म चर्चित छ।

वि.सं. २००५ चैत २२ गते निधन भएका फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।

प्रतिक्रिया