justnep single

आज बालाचर्तुदशी, पितृ मोक्षका लागि शतविज छर्ने दिन

रबि धिताल

काठमाडौं, मंसिर ९ : आज बालाचर्तुदशी। पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ। मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि छर्ने चलन छ। यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ।

यसका साथै शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ। शतबीजको एक गेडा अन्न छर्नाले सुन दान गरे बराबरको फलसमेत प्राप्त हुने धार्मिक मान्यता छ। मंसिर कृष्ण त्रयोदशीका दिन शतबीज छर्ने बेलासम्म आफ्ना पीतृहरूको नाममा बत्ती बाल्ने गरिन्छ। यसैक्रममा दिवङ्गत पीतृहरुको नाममा दीपदान गर्न लाखौं भक्तजन आइतबार पशुपति क्षेत्रमा जम्मा भएका छन्।

दीपदान गरी आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने शास्त्रीय विधि छ। अघिल्लो दिन दियो, कलश गणेश थापी भर्खरै मृत्यु भएका आफन्तजनको नाम र गोत्र उच्चारण गरी संकल्प गरेर बत्ती बाल्ने गरिन्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको हो।

चर्तुदशीका दिन बिहान स्नान गरी बत्ती खोलामा विसर्जन गरी शतबीज छरेर पूर्णपात्रो गर्ने चलन छ। राजधानीको पशुपतिनाथको मन्दिर क्षेत्रमा रहेका ११८ शिवलिङ, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति मृगस्थलीलगायतका ठाउँमा श्रद्धालु भक्तजनको अघिल्लो दिन साँझदेखि नै भिड लाग्ने गर्दछ।

प्रतिक्रिया