काठमाडौं, बैशाख २० : आज विश्वभरि सूचना, सार्वजनिक हितका लागि भन्ने नाराका साथ नेपालमा पनि ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदैछ । समाचार मिडियाको आर्थिक पूर्णता इन्टरनेट कम्पनीहरूको पारदर्शिता अनि मिडिया साक्षरतामा जोड दिँदै विश्वभर ‘भर्चुअल’ कार्यक्रमबीच यो दिवस मनाइँदैछ ।
हरेक वर्ष आजको दिन नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौं र मुलुकका अन्य शहरमा मे–३ को दिन प्रभातफेरि कार्यक्रम गरिन्थ्यो । त्यसअतिरिक्त दिउँसो पनि पत्रकारिता, प्रेस स्वतन्त्रताका सवालमा कुनै न कुनै किसिमको छलफल आयोजना गरिन्थ्यो ।
तर, यो वर्ष कोभिड–१९ कहरकै बीचमा प्रेस स्वतन्त्रता दिवस परेको छ । चारैतिर संक्रमणको डर छ । भौतिक दूरी कायम राख्नुपर्ने अवस्था छ । तसर्थ यसवर्ष भर्चुअल माध्यमबाट दिवस मनाइदै छ ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै आइएको छ ।