काठमाडौं, १९ असोज : पछिल्लो २४ घण्टामा दुई हजार चार सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ८९ हजार दुई सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार सात सय ८१ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ४० जनामा संक्रमण देखिएको हो । त्यस्तै बितेको २४ घण्टामा एक हजार एक सय ३३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६५ हजार दुई सय दुई पुगेको छ ।
अब नेपालमा २३ हजार पाँच सय सात जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार ३३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय ५४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सोमबार १३,७८१ जनाको पीसीआर भएको छ भने हालसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर भइसकेको छ।