justnep single

आन्दोलन गर्नलागेको ११ दिनसम्म पनि उखु किसानको माग पूरा भएन

admin

काठमाडौं, ८ पुस : उखु किसानले बुधबार ११औँ दिन पनि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । उखु बेचेको रकम भुक्तानीको माग गर्दै किसानले बुधबार हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

गएको मंसिर २८ गतेदेखि विभिन्न जिल्लाबाट काठमाडौं आएर सङ्घर्ष गरिरहेका किसानले उखुको पैसा हात नपरेसम्म काठमाडौं नछाड्ने अडान लिएका छन् । सरकारले गत वर्षको माघ ७ गतेभित्र नै उखुको रकम दिलाउने गरी उखु किसान र मिल सञ्चालकबीच सम्झौता गराएको थियो ।

किसानले एक वर्षसम्म पनि भुक्तानी नपाएपछि किसानहरू फेरि आन्दोलन गर्न बाध्य भएका हुन् । किसानहरूले सरकारसँग पटक-पटक कुराकानी भएको तर उद्योगी र सरकारबीचको मिलेमतोका कारण भुक्तानी पाउन नसकेको बताएका छन् ।

आफूहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको किसानको भनाइ छ तर उद्योगी र सरकारले भने धेरै रकम भुक्तानी भइसकेको र अब ४५ करोड रुपैयाँको हाराहारीमा मात्रै भुक्तानी बाँकी रहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया