काठमाडौं, २३ भदौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन् । अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षड्यन्त्र देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरूले गरिरहेको बताएका हुन् ।
सुरेश वाग्ले र भीमसेन पोखरेलको २२औँ स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने अडान पनि दोहोर्याए । अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौता अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पारे ।
तर अर्को वर्ग पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोड्ने भनेर लागिपरेको उनको दाबी छ । उनले लोकतन्त्रको रक्षा गर्न, संविधानको रक्षा गर्न, गणतन्त्रको रक्षा गर्न र राष्ट्रको रक्षा गर्नका लागि सत्तारुढ गठबन्धन बनाउनुपरेको पनि उल्लेख गरे । अध्यक्ष दाहालले नेकपा एमाले पतन हुने दिशामा अघि बढिरहेको टिप्पणी पनि गरे ।
मार्क्सवादी भन्न नहुने, राम, सीता र लक्ष्मणको मूर्ति बोकेर हिँड्ने अवस्था आएकाले एमाले पतनको ढिलमा पुगेको उनको तर्क थियो । अध्यक्ष दाहालले एमाले नेतृत्वले सूर्य चिह्न र मदन भण्डारीको दुरुपयोग गरेर पद, पैसा र प्रतिष्ठा आर्जन गर्न जानेको आरोपसमेत लगाए ।