काठमाडौं, १६ असार : नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग भएको छ । (आज) बुधबारको बैठकले पार्टीको स्थायी कमिटीमा आठ जना सदस्य थप्ने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको अन्तिम बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गर्दै केन्द्रीय कमिटी सक्रिय बनाउने निर्णय गरेको हो ।
माओवादीबाट आएका चार जना र एमालेका चार जनालाई स्थायी कमिटीमा थप्ने निर्णय भएको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् । बैठकले रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त तथा माओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको हो ।
यस्तै महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै कारबाहीमा परेका खनाल–नेपाल समूहका ११ जनामाथि गरिएको कारबाहीसमेत निष्क्रिय भएको छ । सर्वोच्च अदालतले दिएको पछिल्लो अन्तरिम आदेशले महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीको निर्णयले वैधानिकता नपाएपछि एमालेलाई माओवादीसँग एकताअघिको २०७५ को जेठ २ गतेकै केन्द्रीय कमिटी बिउँताउनुपर्ने बाध्यात्मक अवस्था रहेको थियो ।
त्यही बाध्यताअनुसार बुधबारको बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गर्ने, केन्द्रीय कमिटी बिउँताउने र स्थायी कमिटीमा आठ जना सदस्य थप गर्ने निर्णय गरेको हो । यसैबीच अब एमालेको केन्द्रीय कमिटी बैठक यही १८ गते बस्ने भएको छ ।