काठमाडौं, १० असोज : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने भएको छ। आगामी विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलमा आएका निष्कर्षहरूलाई समेट्दै आज बैठक सकिने भएको हो।
बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा समूहगत छलफलमा आएका सुझावलाई दस्तावेजीकरण गर्ने र प्रतिवेदनका विषयमा उठेका जिज्ञासाको अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आगामी विधान महाधिवेशनका लागि प्रस्तावित राजनीतिक, संगठनात्मक र विधान संशोधन सम्बन्धी प्रतिवेदनमा छलफल गर्न प्रदेश र विभिन्न विभागीय गरी १० वटा समूह बनाएको थियो। समूहगत छलफलका क्रममा नेताहरुले उमेर हद र पदाधिकारी अवधिका विषयमा सुझाव दिएका थिए।