काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेका आरोप लगाएका छन्।
सोमबार काठमाडौँमा प्रतिनिधि सभा विघटनविरुद्ध आयोजित नागरिक भेलामा अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनप्रति ओलीको निष्ठा नभएको बताए। ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेका पनि उनको आरोप थियो। गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताप्रति ओलीमा कुनै अपनत्व नभएको नेपालले बताए।
अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरुलाई दिन आग्रह गरेका थिए। यद्यपि सरकारले नै निर्वाचनको मिति तोकेपछि चुनावको तयारीमा लाग्नुपर्ने निर्वाचनले आयोगले बताएको छ।
बहुमत केन्द्रीय कमिटी सदस्य आफूहरूतिर भएकाले पार्टीको विधान संशोधन गर्न बहुमत चाहिने भएकाले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचल्ने नेपालले स्पष्ट पारे।
निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचनसम्बन्धी कानुन हेरेर निर्णय गर्न नेता नेपालले आग्रहसमेत गरेका बताए। प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उनले जिकिर गरे।
प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएका पनि अध्यक्ष नेपालले दाबी गरे।