काठमाडौं, १५ पुस : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा चुनाव नगराउने र सत्ताबाट पनि हट्ने दाबी गरेका छन् । रोल्पामा भएको एक कार्यक्रममा नेता पुनले अबको चार महिनामा चुनाव नहुने र ओली पनि सत्तामा नरहने दाबी गरेका हुन् ।
ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भन्दै पुनले त्यस्तो धम्कीबाट आफूहरु नडराउने बताए । पुनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर देश संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको पुनको टिप्पणी छ । पुनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर देशको अभिभावकत्व गुमाएको पनि टिप्पणी गरेका छन् ।