काठमाडौं, ९ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आश्चर्य लाग्ने राजनीति गरिरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप पनि लगाउने र सरकारलाई दिएको समर्थन कायम राख्ने भन्दै राप्रपा अध्यक्ष थापाले दाहालले ‘लाजमर्दो राजनीति’ गरेको बताएका हुन् ।
सोमबार सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन्, दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्षौँदेखि विदेशीबाट पालित पोषित एजेन्ट भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ । यस्तो गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति ।
(हिजो) आइतबार माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी/विदेशीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको आरोप लगाएका थिए । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा दलित मुक्ति मोर्चाद्वारा आयोजित ५६औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका थिए ।
उनले भनेका थिए, ‘हिजोका गणतन्त्र विरोधी, सामन्तवादका दलालहरू, देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू पनि जसले यो संविधानलाई स्वीकार्न सकेका छैनन् । विचार गर्नुहोला, ती सबै मिलेर एउटा धार बनेको छ र ती सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा उनीहरूले केपी ओली भेटेका छन् । केपी ओली नै रहेछन् यो संविधान सिध्याउन सक्ने, गणतन्त्र पनि सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई उनीहरूको हक अधिकारलाई सिध्याउन सक्ने । अहिले केपी ओलीलाई प्रतिनिधिको रूपमा त्यो धारको प्रतिगामी, प्रतिक्रान्तिकारी, निरङ्कुश, लोकतन्त्रविरोधी, समावेशी समानुपातिक विरोधी सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नास गर्न सक्ने पात्रको रूपमा केपीजीलाई साथ लिएका छन् उनीहरूले । कति दिन लिन्छन् मलाई थाहा छैन । अहिले चाहिँ लिएकै छन् ।’