कम्युनिष्ट गालि-चिन्तन (विचार )

admin
  • आनन्दराम पौडेल

रविन्द्र मिश्रले जनताको मुटुको ढकढुकि छामेर जनताको भावना बुझेर राष्ट्रको बाणि बोलेका मात्र थिए, भारु, युरो, डलरबाट पालितपोषित १२ बुँदेहरूलाइ हन्हन्ति ज्वरो आइहाल्यो। उनीहरू उफ्रिपाफ्रि गर्दै कराउन-चिच्याउन थालिहाले। रविन्द्र मिश्र यदि कम्युनिष्ट पार्टीमा हुँदाहुन् त पार्टीभित्रबाटै रविन्द्र मिश्रको ब्यक्तित्वमाथि प्रहारगरेर क्षतबिक्षत पारिदिन्थे।

उनका गल्तिकमजोरी केही भेट्टाए त्यसैलाइ उछाल्थे, नभए “यो रविन्द्र मिश्र जासुस, सिआइडी, गुप्तचर हो” भनेर ब्यापक प्रचार गर्नेथिए। भ्रम र भ्रान्ति छरेर स्थापित गर्न नेपालका कम्युनिष्टलाइ कसैले भेट्दैन। यिनै कम्युनिष्टका कारणले गर्दा नेपाली राजनीतिमा सही र गलत छुट्याउनै नसकिने गरी भ्रम र भ्रान्ति सिर्जना गरिएको छ। ठीक ९ बर्षअघि हो, हरिवोल गजुरेलजीले “मोहन बैद्य समूहले राजालाइ पुनर्स्थापित गर्नका लागि पार्टी फोरेका हुन” भन्नुभो। “१२ वुँदे सम्झौताको विरोध गर्नु र गोलमेच सम्मेलनको माँग गर्नुले यसलाइ पुष्टी गर्छ” भन्नुभो।

सँगसँगै “रीमको निर्देशनमा पार्टी फोरेका हुन्” भन्नपनि भ्याउनुभो। यी दुईटा कारणहरु विरोधाभासपूर्ण छन्। विगतदेखिका घटनावलीहरु हेर्दा दोश्रो कारणमा केही सत्यताको अंश भेटिन सक्छ। रीमको अत्यन्तै प्रभावशाली सदस्य मानिएको इटालीको सर्वहारा कम्युनिष्ट पार्टी, माओवादीले १४जुलाई, २००९मा सार्वजनिक गरेको राजनीतिक विश्लेषणमा एनेकपा माओवादीको बिषयमा प्रष्ट किटानी राय दिएको छ।

लेखक : आनन्दराम पौडेल

उस्ले भनेको छ, “एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आन्दोलन र पार्टीलाइ गलत दिशातिर लगेकाले हामी प्रचण्ड पक्षलाइ समर्थन गर्दैनौं। मोहन वैद्य ‘किरण’ र सीपी गजुरेल ‘गौरव’ले नेतृत्व गरेको पार्टी भित्रको फरक पक्षलाइ समर्थन गर्दछौं।” रीमको वरिष्ठ सदस्य भाकपा (माओवादी)ले पनि “एनेकपा, माओवादीको पार्टी नेतृत्वले पार्टीलाइ गलत दिशामा लगेको, क्रान्तिलाइ विसर्जन गरेको र जनताबाट टाढिंदै गएकोले महान लक्षमा अगाडी बढ्नका लागि त्यहाँभित्रका क्रान्तिकारी नेता र कार्यकर्ताहरुले विसर्जनवादी नीति र विचलनवादी नेताका विरुद्ध विद्रोहको झण्डा उठाउनुपर्ने आवश्यकता औंल्याएको छ।”

विचार विश्लेषणमा प्रभावशाली सङ्गठन भनिएको आरसिपी,अमेरिकाका अध्यक्ष बब अवाकिनले पनि “एनेकपा माओवादीले लिएको गलत कार्यदिशालाइ विश्वका सवै माओवादी पार्टीहरुले भर्त्सना गर्नुपर्छ” भनि आव्हानै गरेका थिए। रीमका नेताहरु नेपाल आएका र मोहन वैद्य पक्षलाइ मात्र भेटेर गएको कुरा स्वयं प्रचण्डले भन्नुभएको र वैठकमा समेत उठेको भन्ने सुनियो।

यसरी हेर्दा मोहन वैद्य पक्षलाइ पार्टी फोड्न रीमले उक्सायो वा प्रोत्साहित ग-योहोला भन्न सकिन्छ। तर, हिजो विचारसमूह भनिएको र आज नेकपा-माओवादी पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताका कुनैपनि कृयाकलाप र गतिविधीले अघिल्लो आरोपलाइ कतैबाट पनि पुष्टी गर्दैन। जनताले चरम घृणा गरेका पारस तथा राष्ट्रीय भीजन र राजनीतिक कार्यकुशलता नभएका ज्ञानेन्द्रलाइ पुनर्स्थापित गर्नकै लागि मोहन वैद्यहरुले पार्टी फोरेहोलान् भनेर कसैले पनि पत्याउँदैन।

१२ वुँदे सम्झौतालाइ विरोध गरेकाले ज्ञानेन्द्रलाइ पुनर्स्थापित गर्न खोजेको ठहर्छ भन्ने होभने हिजो १२ वुँदे सम्झौता हुनासाथ नेमकिपाले विरोध गरेको थियो र नेकपा मसालले सम्झौताका महत्वपूर्ण वुँदाहरुमा आपत्ति जनाएको थियो। मोहन वैद्य समूहलाइ ज्ञानेन्द्रसँग जोडेर लाञ्छना हरिवोल गजुरेलले मात्र लगाएका होइनन्, बर्षमान पुन अनन्तले पनि लगाए र स्वयं प्रचण्डले पनि लगाएका थिए।

७२ बर्षको नेपाली कम्युनिष्ट आन्दोलन रचनात्मक र सृजनात्मक कर्महरु भन्दा आरोप-प्रत्यारोप, गालिगलौज र लाञ्छनाहरुले भरिएको छ। हाम्रो जति सवै राम्रो र असहमत हुनासाथ गद्दार भएका छन्। पुष्पलाललाइ शुरुमा “काङ्ग्रेसको पुच्छर” भनेर खेदियो र त्यतिले नपुगेर २०२९ सालमा “गद्दार पुष्पलाल” पुस्तिका छपाएर मुलुकभरी वाँडियो। निर्मल लामा साँच्चिकै निर्मल, कञ्चन र फरासिला थिए। निर्मल लामालाइ पहिले ‘संशोधनवादी’ भनेर हिलो छ्यापियो, त्यस्पछि ‘वामगद्दार’ भनेर खुइल्याइयो। त्यतिले नपुगेर २०३९ सालदेखि “यो निर्मल लामा जासुस, सिआइडी, गुप्तचर नै हो” भनेर व्यापक प्रचारप्रसार गरियो।

जासुस भनेपछि भेटघाट गर्न त्यसबेला हामीपनि हच्किएका थियौं। कसैले भन्दैमा पत्याइहाल्ने त्यो बेवकुफी र वच्कानापन सम्झँदा अहिले पश्चाताप र आत्मग्लानि हुन्छ। पुष्पलाललाइ लाञ्छित गरेको बिषयमा काम्रेड मोहनविक्रमले २०५९ सालमा र निर्मल लामाको चरित्रहत्या गरेको बिषयमा २०६९ सालमा आएर निर्मल लामाको १२औं स्मृतिसभामा पश्चाताप गर्नुभयो।

जिन्दगीमा कहिल्यै नसुनिएका भद्दा गालि र घिनलाग्दा लाञ्छना एमाले पार्टी फुटेको वेलामा सुन्नुप-यो। शव्दकोशमै नभएका गालिगलौजका शव्दहरु सुन्नुपर्दा घीनलागेर भोमिटै हुन्थ्यो। एमालेका कतिपय नेताहरुले कहिल्यैपनि ‘नेकपा-माले’ भन्दैनथे, ‘वासि गुट (वामदेव सिपि गुट)’ भन्थे। समग्र पार्टीलाइ एक ढङ्गले प्रहार गर्थे र व्यक्ति-व्यक्तिलाइ छुट्टै प्रहार गर्थे। व्यक्तिका गल्ति-कमजोरी भए त्यसैमा प्रहार गर्थे; त्यस्तो केही नभेट्टाए “जासुस, सिआइडी, गुप्तचर” भनेर काम तमाम गरिदिन्थे।

यिनीहरूका समग्र आचरण र ब्यवहार हेर्दा त लाग्छ हाम्रा कम्युनिष्ट नेताहरुसँग रचनात्मक र सृजनात्मक सोच हैनकि घृणा र निषेधको धारीलो हतियार तथा गालिको भण्डार मात्रै छ। ११-१२ बर्षअघि चित्रबहादुर केसीजीको राष्ट्रिय जनमोर्चाले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका थिए, संस्कृतिमन्त्री गोपाल किरातीजीचाहीं पत्रकार भेला गरेर “त्यो आन्दोलनमा ज्ञानेन्द्रको पैसा लगानी भएको छ” भनेर फत्तुर लगाइरहेका हुन्थे।

मतान्तर हुनासाथ रसातलमै पु-याएर फाल्ने र कुरा मिल्योभने चाटचुटै गर्न थाल्ने अतिवादी शैलीपनि कम्युनिष्ट पार्टीभित्रै छ। ११ बर्षअघि प्रचण्ड आफैं र उहाँका टीमका काम्रेडहरु, “बाबुराम भट्टराई भारतीय जासुसी संस्था ‘र’ को एजेण्ट हो” भनेर पुष्टी गर्न कसरत गरिरहेका थिए। तिनै प्रचण्ड र त्यही टीम अहिले बाबुरामलाइ काँधैमा वोकेर हिंडिरहेछन्।

१९ बर्षअघि ‘प्रचण्डपथ’ भनेर प्रचण्डलाइ देवत्वकरण गर्न यिनै मोहन वैद्य किरणको अग्रणि भूमिका थियो। मन परुञ्जेलसम्म काम्रेड आलोक, अध्यक्ष काम्रेडको दाहिने हात थिए, अलिकति तलवितल पर्नासाथ रातारात आलोक प्रवृत्तिमा रुपान्तरण भैहाले। रामबहादुर थापा बादललाइ पनि ‘लीन प्याओवादी’ भनेर सिध्याउने कसरत शुरू गरिसकेकै थिए।

यी कम्युनिष्ट नेताभन्दा त मेरो जिल्लाका रुपचन्द्र बिष्ट धेरै परिपक्व रहेछन्, जो भन्थे, “जीवित मान्छेको बिषयमा म केही वोल्दिन। जीवित मान्छे भनेको अदालतमा चलिरहेको त्यो मुद्दा हो, जस्को फैसला चिहानमा हुन्छ, को कति रह्यो।”

कम्युनिष्ट स्कूलिङमा गालिशास्त्रको भाष्यलाइ अनिवार्य पाठ्यक्रमको रूपमा लेनिनले स्थापित गराए। १९१७ अघिसम्म लेनिनले काउत्स्कीको प्रशंसा गरेर थाक्दैनथे। जव एक-दुईटा बिषयमा विमति भयो, तव काउत्स्की संसारकै अत्यन्तै निकृष्ट र तुच्छ व्यक्ति भैहाले। सन १९१७ फेब्रुअरीमा प्रकाशित ‘राज्यसत्ता र क्रान्ति’ पुस्तकमा लेनिनले काउत्स्कीलाइ खलनायक भनेका छन। त्यही सालको अक्टोबरमा ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ पुस्तक प्रकाशित गरेका थिए,जस्मा काउत्स्कीलाइ गद्दार सावित गर्न भयङ्कर कसरत गरेका छन्।

रिस, आवेश र आवेगमा जथाभावी पोखेको लाञ्छना,आरोप र गालिहरु तत्काल सामान्य ठानिएपनि कालान्तरमा यस्को परिणाम भयङ्कर हुन्छ। सर्वप्रथम त निर्दोष मान्छेलाइ गहीरो आघात पर्छ। यस्ले सामाजिक वातावरण र परिवेशलाइ अतिशय प्रदुषित गर्छ। सज्जनहरुलाइ असहज हुन थाल्छ।

धमीलो पानीमा माछा मार्न शिपालुहरुले वेस्सरी फाइदा उठाउँछन्। भूईंफुट्टा वर्गको विकास हुन्छ। उन्नत, परिस्कृत र वैज्ञानिक मूल्यपद्दति तथा संस्कृति मर्दै जान्छ र त्यस्को सट्टामा टपर्टुईंयाँ संस्कृति मौलाउँछ। हरतरहले हाम्रो सभ्यता, समाज र संस्कृतिलाइ क्षति पु-याएरै छाड्छ।

 

 

प्रतिक्रिया