काठमाडाैं, ५ साउन : गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित कम्तीमा सातवटा मन्त्रालय/मन्त्री पाउने सहमति गठबन्धनमा बनेको छ। अब कांग्रेसले पाउने मन्त्रालयको भागवण्डा त्यहाँभित्रका समूहमा कसरी गर्ने भन्ने रस्साकस्सी सुरु भएको छ। सुरुआती छलफलका आधारमा कांग्रेसभित्रका तीन बेग्लाबेग्लै समूहबीच मन्त्रालय भागवण्डा लगभग टुंगो लागेको बताइएको छ।
कांग्रेसमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुरले ने्तृत्व गरेको समूह (संस्थापन), वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको समूह र अर्का नेता कृृष्णप्रसाद सिटौलाले नेतृत्व गर्ने समूह छ। तीन समूहमध्ये प्रधानमन्त्री देउवापक्षले चार मन्त्रालय पाउने, वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले दुई र अर्का नेता कृष्णप्रसाद सिटौलापक्षले एक मन्त्रालय पाउने बताइएको छ।
देउवा समूहबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीले शपथ लिइसकेका छन्। उक्त समूहबाट बढीमा दुई जना थपिनेछन्। जसमा महिलाबाट पछिल्लो समय डिला संग्रौलाको नाम चर्चामा छ। पुष्पा भुसालको नाम पनि चर्चामा रहे पनि उनी संसदीय दलको सचेतक रहेकाले संग्रौलालाई मन्त्री बनाउन दबाब बढेको छ।
त्यस्तै, मधेशबाट सप्तरीका तेजुलाल चौधरीको नाम पनि मन्त्रीका रुपमा चर्चामा आएको छ। पौडेल पक्षले उपप्रधानमन्त्रीमा समेत दाबी गरेको छ। महामन्त्री शशांक कोइराला र नेताहरू प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये एकलाई उपप्रधानमन्त्रीको माग गर्ने उक्त समूहले निर्णय गरेको छ।
सोही समूहबाट मिनेन्द्र रिजाल र दिलेन्द्र बडुको नाम पनि चर्चामा छ। भौगोलिक अवस्था हेरेर मन्त्री चयन गरिए बडुको सम्भावना बढी रहेको उक्त समूहका एक नेताले बताए। उनी दार्चुलाका हुन्।
सिटौला समूहले एक मात्रै मन्त्रालय प्राप्त गर्ने भएको छ। उक्त समूहबाट गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकलाई मन्त्री बनाउने बताइएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नभए तीन दलको भागमा मन्त्रालय थपिने छन्। माधव पक्ष सरकारमा सहभागी नभए कांग्रेसले १० मन्त्रालय आफ्नो भागमा राख्ने बताएको छ। त्यो अवस्थामा कांग्रेसका तीनवटै समूहले पाउने मन्त्रीको संख्या पनि थपिनेछ।