कांग्रेस पदाधिकारी बैठक सकियो, क्रियाशील छानबिन समितिको प्रस्तावित मापदण्डमा देउवा असन्तुष्ट

admin

काठमाडौं, असार १३ : नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । आइतबारको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिनबारे छलफल भएको बुझिएको छ ।

समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरी त्यसलाई पास गर्न पदाधिकारी बैठकसमक्ष पेस गरेको थियो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आफ्नो समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समितिले पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक बनेका, पार्टी अनुशासनको कारबाहीमा परेका, पार्टी परित्याग गरेका र निधन भएकाको क्रियाशील नवीकरण नहुने मापदण्ड बनाएको छ । समितिले बुझाएको मापदण्डमा अन्य पदाधिकारीले समर्थन गरे पनि पार्टी सभापति शेरबहादुर देउवाले भने असन्तुष्टि जनाएको बुझिएको छ ।

सभापतिको असहमतिका कारण आजको पदाधिकारी बैठकबाट समितिको प्रस्तावित मापदण्ड पास हुन सकेन । छानबिन समितिले बुझाएको मापदण्ड पारित नहुँदा महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिन्छ । मापदण्ड पारित नहुँदा छानबिन समितिका सदस्यहरु नै असन्तुष्ट बनेका छन् ।

क्रियाशील सदस्यताको मुद्दा बेलैमा किनारा नलागे महाधिवेशन नै प्रभावित हुने छानबिन समितिका एक सदस्यले बताए । समितिले लामो गृहकार्य गरेर मापदण्ड बनाएको भन्दै उनले यसलाई पारित गर्न आलटाल गर्ने हो भने समितिमा बसेर काम गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्ने बताए । क्रियाशील सदस्यताको विषय टुंग्याउन सभापतिले नै आनाकानी गर्नुले उनी समयमा महाधिवेशन सम्पन्न गर्न प्रतिबद्ध रहेको कुरामा आशंका बढेको छ ।

प्रतिक्रिया