काठमाडौं : कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन्।
गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिक सत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन्। अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो।
कोरोना जोखिम कम भएका काठमाडौं उपत्यकाबाहिरका अधिकांश स्थानका विद्यालय गत मंसिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए। ती विद्यालयमा संक्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ। हाल देशभर दैनिक करिब ५०० र काठमाडौंमा २०० को हाराहारीमा संक्रमित देखिएका छन्।
काठमाडौं महानगरपालिकाका शिक्षा विभागका अधिकृत (आठौं) मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताए।
उनले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन÷चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने बताए। काठमाडौंमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालय छन्। यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन्।
कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ। काठमाडौंको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताए।
भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ सुरु भएको थियो।
विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्नुपर्नेछ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको तर देशभर अनिवार्यरुपमा सञ्चालनका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने बताए।
जनस्वास्थ्य विज्ञले भने विद्यायल खोल्न हतार नगर्न सुझाव दिँदै आएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले लामो समयदेखि विद्यालय बन्द रहेको र महामारीको जोखिम घटेकाले काठमाडौं र शहरी क्षेत्रका विद्यालय पनि खुलाउन आफ्ना सदस्य विद्यालयलाई आग्रह गरिएको बताए।
निजी विद्यालयले प्रत्यक्ष पढाइ नहुँदा पूर्ण शुल्क लिन नपाइएको र आर्थिकरुपमा सञ्चालन गर्न धौधौ परेको जनाउँदै शिक्षकलाई न्यून तलब दिन थालेका थिए। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले विद्यालय सञ्चालनका क्रममा अभिभावक पहिलो उपभोक्ता भएकाले उनीहरुसँग परामर्श लिई केन्द्र, प्रदेश र स्थानीय तहले विद्यालय शिक्षाको योजना बनाउनुपर्ने प्रतिक्रिया दिए।