justnep single

काभ्रेकाे ‘एकीकरण पदमार्ग’मा नेपाली सेनाको पदयात्रा

राष्ट्रिय समाचार समिति

काठमाण्डाै : नेपाली सेनाले नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा रहेकाे गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोलाई ‘एकीकरण पदमार्ग’ नामाकरण गरी पदयात्रा कार्यक्रमको आयोजना गरेकाे छ । पदयात्रा कार्यक्रमकाे प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नुभएको हाे ।

पदयात्रामा स्थानीय जनप्रतिनिधिलगायत करिब २०० को सहभागिता रहेको धुलिखेलमा रहेकाे नेपाली सेनाको कालीजङ्ग गणले जनाएकाे छ । नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा रहेकाे गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोलाई प्रवर्द्धन गरी ‘ट्रेकिङ ट्रेल’का रूपमा विकसित गर्ने योजनाका साथ पहिलो चरणमा पदयात्रा कार्यक्रमको आयोजना गरिएको गणपति मिलन थापाले बताउनुभयो ।

थापाका अनुसार पदयात्रा धुलिखेल ब्यारेकबाट बुरु भएर देवीस्थान (काभ्रे-कोट)हुँदै शारदाबतासे, चौकोटबाट ऐतिहासिक नगरी पनौतीमा रहेकाे इन्द्रश्वर महादेव मन्दिरमा अपराह्न समापन गरिएको हो । गणले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले विसं १८०३ देखि १८२० सम्म काठमाण्डौ र काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान गरी एउटा पदमार्गमा पदयात्रा कार्यक्रमको आयोजना गरिएको गणपति थापाले जानकारी दिनुभयो ।

गएकाे वर्ष धुलिखेलमा रहेकाे तत्कालीन विष्णुदल गणले ‘भ्रमण वर्ष-२०२०’ लक्षित ‘युनिफिकेशन ट्रेिकङ ट्रेल’ प्रवर्द्धनयोजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोकिएको थियो ।

एकीकरण पदमार्गलाई ‘ट्रेकिङ ट्रेल’का रूपमा विकसित गर्ने योजनाका साथ काभ्रेपलाञ्चोकमा छ वटा पदमार्ग पहिचान गरिएको छ । विष्णुदल गणले एकीकरण पदमार्ग पहिचान संरक्षण, संवर्द्धन र सैनिक इतिहास प्रवर्द्धनगर्ने उद्देश्यले छ वटा पदमार्ग पहिचान गरेको थियो । विष्णुदल गण रसुवा र कालीजङ्ग गण धुलिखेल सरुवा भएपछि कालीजङ्ग गणले त्यस योजनालाई पूर्णता दिन थालेको हो ।

थापाका अनुसार पहिचान भएका छ पदमार्गमध्ये विसं १८२० कात्तिक १० गते धुलिखेल विजयपश्चात चौकोट-शारदाकोट-गोरखनाथ हुँदै त्यही कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा गरिनेछ ।

त्यस १० किलोमिटर लम्बाइको त्यस पदमार्गमा गणले एक दिनको पदयात्रा कार्यक्रम तालिका बनाएको छ । काभ्रेपलाञ्चोक एकीकरणका दौरान तत्कालीन अवस्थामा प्रयोग गरिएका पदमार्ग, कोट, धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर र ऐतिहासिक कला संस्कृति झल्कने ठाउँलाई योजनामा समेटिएको छ ।

विभिन्न अखिलेखअनुसार सेनाद्वारा पहिचान गरिएका अन्य पदमार्गमा १८०३ मा नगरकोट कब्जा गरेपश्चात १८१६ मा नगरकोट-अनेकोट-लामीडाँडा हुँदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएका बाटो, १८१८ मा पलाञ्चोक विजयपश्चात भमरकोट-काभ्रेकोटसमेत विजय गरी त्यही असार ३० गते चौकोटमाथि हमला गर्दा प्रयोग भएको बाटो, चौकोट विजयपश्चात फस्कोट-फुलबारीकोट-बुचाकोट-मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटो रहेका छन् ।

तेमालकोट विजयपश्चात १८२० कात्तिक १० गते धुवाँकोट-दाप्चा-नमोबुद्ध-फस्कोट हुँदै पुनः चौकोट विजय र सोही दिन कोटखेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटो र धुलिखेलबाट गोसाइँस्थान-नालाकोट-साँगा हुँदै बनेपा र पनौतीबाट नागीडाँडा-साँगा हुँदै बनेपा आउन प्रयोग गरिएका बाटो रहेका छन् ।

‘ट्रेकिङ ट्रेल’ बनिसकेपछि ऐतिहासिक एवं कला झल्काउने ठाउँलाई विश्वमा चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । ट्रेकिङ ट्रेलअन्तर्गत सुरुआत स्थल, सङ्केत केन्द्र, मेडिकल, खानेपानी, शौचालयजस्ता भौतिक संरचना धुलिखेल र पनौती नगरपालिकाभित्र बन्ने भएकाले ती दुई पालिकाले निर्माणमा सहयोग गर्नेछन् ।

ट्रेकिङ ट्रेल निर्माणपछि पालिका, होटल एसाेसिएशन नेपाल तथा उद्योग वाणिज्य सङ्घलगायत सामाजिक संस्थाले त्यसलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि ‘पर्यटकीय रुट’का रुपमा समेत विकसित गर्न सुझाइएको छ । पर्यटकीय नगरि धुलिखेल र ऐतिहासिक एवं धार्मिक नगरी पनौती नगरले समन्वय गरी ट्रेकिङ ट्रेललाई स्थापित गर्न सरोकारवालाबीच विभिन्न चरणमा छलफलसमेत हुँदै आएका छन् ।

प्रतिक्रिया