कोरोनाको जोखिम टरेको छैन, मास्कको प्रयोग एकाएक घट्यो : विज्ञ

admin

काठमाडौं, २३ माघ : कोरोना भाइरसको संक्रमणसँगै बढेको मास्कको प्रयोग एकाएक घटेको छ । पसलमा पनि पहिलेजस्तो मास्कको कारोबार हुँदैन । मास्क उद्योगको उत्पादन पनि घटेको छ । पहिले मास्क नलगाएको मानिस बिरलै देखिने सहर र बजारहरुमा अहिले भने मास्क लगाएका मानिस थोरै मात्र देखिन थालेका छन् । कोरोनाको खोप भित्रिएसँगै मुखबाट मास्क बाहिरिन थालेको छ ।

पछिल्लो समय चीनलगायतका देशबाट मास्क भित्रने क्रम बढ्दो छ । विदेशी मास्कको आयातलाई रोक्न नसके स्वदेशी उद्योग धरासायी बन्न सक्छ । सरकारले प्रोत्साहन गर्न नसक्दा स्वदेशी उद्योगको उत्पादन लागत बढी पर्दा महँगो हुन जानेछ । मास्कका लागि आवश्यक कच्चा पदार्थ आयातमा छुट दिनुपर्ने हुन्छ ।

चीनबाट आयातित मास्क १५ प्रतिशतमा भन्सारबाट छुट्छ । कच्चा पदार्थमा भने ३५ प्रतिशत भन्सार महसुल लाग्छ । चीनले एकैदिन करोडौं मास्क उत्पादन गरेर विश्व बजारमा पुर्याउछ । चीनलगायतका देशबाट मास्क आयात हुँदा स्वदेशी मास्कको व्यापारमा कमी आएको हो । अहिले मास्कको व्यापारमा ६० देखि ७० प्रतिशतले कमी आएको छ ।

विदेशी मास्कको बढ्दो प्रयोगले स्वदेशी मास्क उद्योगहरु धराशायी हुने खतरा बढेको छ । हिजोआज मानिसहरुले पनि कोरोना संक्रमितको संख्या कम भएसँगै मास्कको कम मात्रै प्रयोग गर्न थालेका छन् । अनि स्वदेशी सामान जति नै राम्रो भए पनि विदेशी नै राम्रो हो भन्ने मानसिकताका कारण पनि मास्कको व्यापार घटेको पाइएको छ ।

अझै पनि महामारीको जोखिमसँगै नयाँ दोस्रो वेब आउन सक्ने चेतावनी विज्ञहरुले पनि दिँदै आएका छन् । यस्तो अवस्थामा पनि मानिसहरुले मास्कको प्रयोग गर्न छोड्नु त अचम्मै भयो नि होइन । मास्कको प्रयोग कम हुँदै गएकोमा विज्ञहरु पनि चिन्तित छन् ।

नेपाल स्वास्थ्य परिषद्का कार्यकारी प्रमुख प्रदीप ज्ञवाली आफूले पनि पछिल्लो समयमा मास्क नलगाइ हिँड्ने मान्छे भेट्ने गरेको बताएका छन् । अझै पनि हामी महामारीको जोखिममा भएको कुरा बिर्सिएकामा उनी दुःख पोख्छन् । काठमाडौं उपत्यका बाहिरका मानिसले एकदमै कम मात्र मास्क लगाउने गरेका छन् ।

उपत्यका भित्रैकाले पनि मास्कको प्रयोग कम गर्न थालेका छन् । सरकार, विज्ञ र मिडियाले पटक-पटक मास्क लगाउन भनिरहेका छन् । मास्कको प्रयोगले कोरोनाबाट जोगिन मात्र नभएर अरु विभिन्न रोगबाट बच्न सकिन्छ भनेर मास्कको महत्त्व मानिसहरुले बुझ्न नसकेकोमा उनलाई दिक्क लाग्छ ।

कोरोनाको खोप लगाएपछि पनि मास्क लगाउनुपर्छ । कोरोनाको समयमा मात्रै होइन जतिखेर पनि मास्कको प्रयोग गर्न उनको सुझाव छ । ‘मास्क लगाउने बानी आफैँ पार्नुपर्छ । बानी पार्नका लागि मास्कको महत्त्व बुझ्नुपर्छ । बोल्न गाह्रो भयो, सास फेर्न गाह्रो भयो भनेर मास्क लगाउन छोड्नु हुँदैन । गाह्रो भए पनि लगाउने गरेमा बिस्तारै बानी पर्दै जान्छ ।’

नेपालमा कोरोनाविरुद्धको खोप भित्रिएसँगै मानिसको मुखबाट मास्क बाहिरिन थालेकाले मास्कको प्रयोगमा बानी पार्दै लैजान र यसको प्रयोग गर्न नछोड्न उनको सुझाव छ । दैनिक जीवनका लागि भाइरसबाट बच्न मास्क र स्यानिटाइजर निकै आवश्यक भएको बताउँदै उनले हात धुने बानीले झाडापखालादेखि टाइफाइड, कमलपित्तजस्ता सरुवा रोगबाट बच्नसमेत सहयोग पुग्ने बताए । सरुवा रोगसँगै धुवाँ धुलोबाट बच्न समेत मास्क लगाउन विज्ञहरुले सुझाव दिंदै आएका छन् ।

प्रतिक्रिया