justnep single

कोरोनाविरुद्धको खोप १० दिनभित्र वितरण गरिने

admin

काठमाडौं, ८ माघ : भारतबाट आएको खोप १० दिन भित्रमा वितरण गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले बताएका छन् । भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उनले अबको हप्ता १० दिनमा खोप वितरण गर्ने बताएका हुन् । उनले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताए ।

उनले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइने पनि बताए । भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आइपुगेको छ ।  बिहान ११ बजेर ५१ मिनेटमा भारतको एयर इन्डियाको विमानबाट काठमाडौंमा खोप ल्याइएको हो । कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरे ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आएको हो । भारतले अनुदानमा दिएको यी खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि हरेक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । खोप पठाउन स्वास्थ्य मन्त्रालयले तीन वटा भ्यान तयारी अवस्थामा राखेको जनाएको छ ।

एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढीमा खोप पुर्‍याउने छ भने अर्कोले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले पोखरामा खोप पुर्‍याउने छ । सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डाक्टर श्यामराज उप्रेतीकाअनुसार भारतबाट अनुदानमा ल्याइने खोप हरेक व्यक्तिलाई दुई मात्रा दिइन्छ । खोप लगाएका व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिने छ । उनले खोप सुरक्षित भएकाले ढुक्क हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया