justnep single

कोरोनाविरुद्धको नयाँ औषधि परीक्षण सुरु

admin

एजेन्सी, १२ पुस : बेलायतमा कोरोना भाइरस (कोभिड-१९)विरुद्धको नयाँ औषधि परीक्षण सुरु भएको छ । औषधि बेलायतको यूनिभर्सिटी कलेज (यूसीएलएच) मा परीक्षण भैरहेको हो । बेलायतका वैज्ञानिकहरूले कोरोनाबाट आपतकालीन रक्षा गर्न सक्ने औषधि विकास गरिएको र परीक्षण सुरु भएको बताएका हुन् ।

बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोना संक्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने दाबी गरिएको छ ।

संक्रमित बिरामीलाई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने वैज्ञानिकले बताएका बेलायती पत्रिका गार्जियनले उल्लेख गरेको छ । अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको छ ।

यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई बेलायतमा औषधिको मात्रा दिइएको छ । यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रभावकारी पाइएमा सुइमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई उपयोगी हुनेछ । साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने खोप परीक्षणमा संलग्न वैज्ञानिकको भनाइ छ ।

प्रतिक्रिया