काठमाडौं, २७ पुस : नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको एक हप्ताभित्र वितरणको अभियान सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले एक करोड ७० लाख खोपको भण्डारण गर्न सक्ने क्षमता रहेको र खोप प्राप्त भएको सात दिनभित्र खोप वितरण गर्ने तयारी भइरहेको बताएका हुन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले जतिसक्दो छिटो खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी पनि थालिएको बताए । निश्चित देशमा मात्रै कोरोनाविरुद्धको खोपको विकास भएकाले नेपालमा मागअनुसारको खोप ल्याउन भने समस्या भएको उनको भनाइ छ ।
यद्यपि एक करोड ७० लाख खोप आयातका लागि रुस, भारतलगायत देशसँग छलफल भइरहेको र कुटनीतिक पत्र पठाइसकेको उनले बताए । खोप न्यायपूर्ण ढङ्गले वितरण गर्ने पनि मन्त्री त्रिपाठीले जानकारी दिए । उनले सञ्चालनमा रहेका १६ हजार खोप केन्द्रलाई परिचालन गर्ने र त्यसका लागि पाँच हजार कर्मचारी खटाउने पनि बताए ।
यस्तै ५२ हजार महिला स्वंयसेविकालाई पनि परिचालन गर्ने सरकारको तयारी छ । स्वास्थ्यमन्त्री त्रिपाठीले खोपमा अरू देशभन्दा पछि पर्ने अवस्था नभएको दाबी पनि गरेका छन् ।