justnep single

क्यान्सरको उपचारका लागि अब विदेश जानु पर्दैन !

राष्ट्रिय समाचार समिति

काठमाडौं, १७ फागुन : अब नेपालीले  क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने उद्देश्यले झापाको बिर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो ।

यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा ६०० करोड रुपैयाँको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो । निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो यस क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले भने, ‘अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन । पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभरुपमा उपलब्ध गराइरहेका छौँ ।’ तीन सय शय्याको स्वीकृति पाएको यस अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको उनले जानकारी दिए ।

गएको वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको यस अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपीडी सेवा प्रदान गरेको छ । अस्पतालमा  पेट स्क्यान, एमआरआई, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको उनले बताए । कार्यक्रममा वरिष्ठ अभिनेत्री मनिषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागिता रहने जनाइएको छ । ‘यो क्यान्सर उपचारका लागि  सेवा दिने अवसर हो, सेवामा केही कमी रहँदैन । उपकरण उही हो, ज्ञान उही हो ।  अमेरिका तथा भारत गए पनि पाउने सुविधा यही हो ।’

अस्पतालका कार्यकारी  निर्देशक प्रसाईँले भने । ‘मुस्कुराउँछ नयाँ जीवन…’ भन्ने नाराका साथ गएको वर्षदेखि यस अस्पतालले आफ्नो सेवा थालनी गरेको थियो । यसबाट पूर्वाञ्चल क्षेत्रलगायत नेपालबाट  क्यान्सर पहिचान तथा उपचार गर्न भारत तथा अन्यत्र देश जानुपर्ने अवस्थासमेत अन्त्य भएका बताइएको छ ।

ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डी पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिस्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाइरहेका छन् ।  पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । 

शरीरभित्रमा ट्युमरका क्यान्सरका सेल पहिचान गर्न क्याथ ल्याब उपकरणको सहायता लिइने गरिन्छ । ‘पेट सिटीलाई आई अफ अङ्कलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडौं उपत्यका बाहिर पहिलोपटक अस्पतालले सञ्चालमा ल्याएको छ ।

सरकारले  अहिलेसम्म आफ्ना अस्पतालबाट पेट सीटी सेवा उपलब्ध गराउन सकेको छैन । यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुङ्गाका रुपमा काम गर्छ । अमेरिका र जर्मनीमा बनेका ती केही उपकरणलाई अहिलेसम्म नेपालका कुनै अस्पतालले सञ्चालनमा ल्याउन सकेका छैनन् ।

उपकरणको मूल्यमात्र करिब एक अर्बभन्दा माथि खर्च भएका जनाइएको छ । ‘क्यान्सरको उपचार नपाएर कोही अकालमा मृत्यु हुन नपरोस् भन्नका लागि अस्पताल बनाउने सपना देखेको हुँ । करिब ३०० शय्याको अस्पताल सञ्चालमा आउने छ । झापालाई ‘मेडिकल हब’ बनाउने मेरो सपना छ ‘ उनी भन्छन् ।

भारतमा उनले केही वर्ष अगाडि घाँटीको क्यान्सरको उपचार गराएका थिए । ‘मेरो पीडाजस्तो अरुले खेप्न नपरोस् । समयमा उपचार पाएर पो म कालको मुखबाट बाँचे नत्र । यसपछि सबै कुरा त्यागेर देशलाई क्यान्सरमुक्त बनाउने अभियानको आधार तयार गर्न दृढताले लागेँ’, उनले आफ्ना भोगाइ सुनाए ।

पछिल्लो समय मेदान्त तथा राजिवगान्धी क्यान्सर अस्पतालका बिरामीमध्ये तेस्रो संख्यामा नेपाली हुने गरेको बताइन्छ । नेपालबाट ती दुई अस्पतालमा मात्र बर्सेनि कति नेपाली  क्यान्सर उपचारमा जान्छन् भन्ने तथ्याङ्क छैन । जनस्वास्थ्य स्वास्थ्य कार्यालय झापाबाट गएको वर्षमात्र ४०० क्यान्सर रोगीले सिफारिस लिएका थिए ।

नेपालमा बर्सेनि विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । क्यान्सर पहिचान भइ उपचारबाट ३० प्रतिमात्र जोगिएका छन् । सत्तरी प्रतिशतको  अकालमा मृत्यु हुने गर्दछ । विकसित देशमा यो अवस्था ठिक उल्टो रहेको छ ।

मुटु प्रत्यारोपणको तयारी :- कार्यकारी निर्देशक प्रसाईँले बीएण्डसी अस्पतालमा मुटु तथा मिर्गौला प्रत्यारोपणका लागि तयारी भइरहेको जानकारी दिए । उनकाअनुसार मुटु उपचार सेवाका लागि ‘क्याथ ल्याब’ सञ्चालनमा आइसकेको छ । पूर्वाञ्चलमा पहिलोपटक ५० करोड रुपैयाँको लगानीमा यस ल्याब सञ्चालनमा ल्याइएको जनाइएको छ ।

अस्पतालले मिर्गौला रोगीका लागि उपचार तथा डायलाइसिस सेवा प्रदान गरिरहेको छ । बीएण्डसी अस्पतालका निर्देशक प्रा. डा. उमेश शर्माले  पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक सबै प्रकारका सेवा उपलब्ध रहेको जानकारी दिए । उनले भने, ‘क्यान्सर उपचारका लागि अब विदेश गर्नुपर्दैन ।’

प्रतिक्रिया