काठमाडौँ, असोज १९ : मन्त्रिपरिषदबाट सिफारिस भएका तीन जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्ने भएको छ। सरकारले संघीय संसद सचिवालयमा पत्राचार गर्दै प्रस्तावित राजदूतको सुनुवाइ अगाडि बढाउन भनेको हो। संसदीय सुनुवाइ समितिमा आइतबार पत्र पुगेको छ।
मन्त्रिपरिषदको गत असोज १५ को बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो। सोही दिन मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई सरकारले बेलायतका लागि राजदूत सिफारिस गरेको थियो।
असोज १५ मै सरकारले निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको थियो।सरकारको सिफारिसअनुसार प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अब अगाडि बढाइने संघीय संसद सचिवालयले जनाएको छ।
समितिको बैठकले सिफारिसमा परेका राजदूत सम्बन्धमा उजुरी आह्वान गर्छ।उजुरी परेन भने सुनुवाइ अघि बढ्छ। यदी उजुरी परेमा प्रस्तावित राजदूतलाई अस्वीकृत गर्न दुईतिहाइ मत चाहिन्छ।