गण्डकीमा मनाङ्गे र आचार्य अझै बिना विभागीय

admin

पोखरा , असार १३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार ४ मध्ये २ मन्त्रीलाई मात्र मन्त्रालयको टुंगो लगाउन सकेका छन् । जसपाका संसदीय दलका नेतासमेत रहेका हरिशरण आचार्य र स्वतन्त्र सांसदबाट मन्त्री नियुक्ति राजीव गुरुङ (दीपक मनाङ्गे) बिनाविभागीयमै सीमित छन् ।

काँग्रेसबाट मन्त्री नियुुक्त कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास परेको छ भने नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले खड्का र अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री नेपालीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, अर्थ, ऊर्जा, जलस्रोत तथा खानेपानी, कानुन, सञ्चार तथा प्रदेशसभा मामिला, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय राखेका छन् । साथै उनीसँग भौतिक पूर्वाधार, सहकारी विकास तथा यातायात व्यवस्था सहित युवा तथा खेलकुद र वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी छ ।

जसपाका आचार्य र स्वतन्त्र सांसद मनाङेबीच मन्त्रालयका भागबण्डा मिल्न सकेको छैन । तीमध्ये आचार्यले अर्थ तथा मनाङेले भौतिक पूर्वाधार विकास मन्त्रालयमा बार्गेनिङ गरिरहेका छन् । तर सरकारको नेतृत्व गरिरहेको काँग्रेस ती २ मन्त्रालयमध्ये १ आफैले राख्न चाहन्छ ।

संविधानको धारा १६८ (५) बमोजिम गत २९ जेठमा नियुक्त मुख्यमन्त्री पोखरेलले नियुक्तिकै दिन ५ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए । अघिल्लो सरकारले ७ मन्त्रालय फुटाएर ११ मन्त्रालय बनाएको थियो । मन्त्री नियुक्तिको २ सातासम्म पनि विनाविभागीय मन्त्रीमै सीमित हुनुले काँग्रेस नेतृत्वको ४ दलीय गठबन्धन मन्त्रालय भागबण्डाको शिकार बनेको प्रष्टै देखिन्छ ।

प्रतिक्रिया