justnep single

‘गुटगत मानसिकता त्यागेर, एमालेलाई एक बनाउन ओलीको भूमिका हुनुपर्छ’

admin

काठमाडौं, ५ चैत्र : नेपाल कम्युनिस्ट पार्टी एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेको माधव समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ ।

राष्ट्रिय भेलामा देशभरबाट नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेका नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको बताए ।

भेलाले कम्युनिस्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओलीलगायत आम नेता, कार्यकर्तालाई आह्वान गर्ने उनको भनाइ छ । वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने कुरामा आफूहरूको जोड रहेको पनि उनले बताए । नेकपा एमालेका नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए ।

नेतृत्वले अझै अरू गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ । नेकपा एमालेका नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरूसहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए ।

नेकपा एमालेकी नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताइन् । नेकपा एमालेलाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उनको भनाइ छ ।

नेकपा एमालेका नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गीय दृष्टिकोण छाडेको आरोप लगाए । ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाइ छ । नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरू पनि गल्ती सच्याउन तयार रहेको बताए ।

प्रतिक्रिया