गृहमन्त्रीको निर्देशन– दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउनू

admin

काठमाडौंँ, १५ साउन : गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानविन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएकाे उनका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार मन्त्री खाणले गृहसचिवलाई उक्त विषयमा परराष्ट्र मन्त्रालयमार्फत आवश्यक समन्वय गर्न पनि निर्देशन दिएका छन् । स्थानीय प्रशासनका अनुसार अहिलेसम्म दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको जानकारी प्राप्त भएको जनाइएको छ ।

स्थानीयले भने तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा नदीमा खसेर वेपत्ता भएको आरोप लगाएका छन् ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्टले अहिलेसम्म तुइन चुँडिएर खसेको भन्ने जानकारी आएकाले जानकारी दिएका छन् । उनले भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक जानकारी नआएको पनि बताए । रासस

प्रतिक्रिया