काठमाडौं, २८ फागुन : नेपालमा विदेशबाट आएका जङ्गली चराबाट बर्ड फ्लुको संक्रमण फैलिएको आशङ्का गरिएको छ । अनुगमन टोलीको प्रतिवेदनले नेपालको बाटो हुँदै जाने विदेशी चराहरुका कारण देशका विभिन्न ठाउँका कुखुरामा बर्ड फ्लुको संक्रमण देखा परेको प्रारम्भिक अनुमान गरिएको पशु स्वास्थ्यसेवा विभागमा प्रवक्ता चन्द्र ढकालले जानकारी दिए ।
ठूलो संख्यामा साइबेरियालगायत ठाउँबाट नेपालको बाटो हुँदै एकै समूहमा लाखौँको संख्यामा चराहरु उडेकाले उनीहरुको प्वाँखलगायत अवशेषहरु नेपालको जमिनमा झर्दा विभिन्न ठाउँमा सङ्क्रमण देखिएको हुन सक्ने उनको भनाइ छ ।
काठमाडौंको तारकेश्वर, सुर्खेत र जाजरकोटमा एक ठाउँबाट अर्को ठाउँमा घरपालुवा पक्षीहरु ओसारपसार नभएको र नाकाहरुमा समेत संक्रमण नदेखिएकाले आकाशमा उडेका विदेशी चराहरुबाट नै बर्ड फ्लु भएको उनको भनाइ छ ।
अहिले संक्रमण देखिएका देशका विभिन्न ठाउँबाट नमुना सङ्कलन गरेर देशभर रहेका पाँच वटै प्रयोगशालामा नियमित परीक्षणको काम भइरहेकोसमेत उनको भनाइ रहेको छ । अहिले बर्ड फ्लु नियन्त्रण नै गर्न नसकिने गरेर नफैलिएको तर जैविक सुरक्षामा भने ध्यान दिन पशु चिकित्सकहरुको सुझाव छ ।