काठमाडौं, १५ भाद्र : सरकारले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिना हुँदा पनि घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन । यस घटनाबारे छानबिन गर्न गठन भएको सरकारी समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । भारतीय सशस्त्र सीमा बल एसएसबीले तुइन खुस्काइदिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गएको साउन १५ गते सदरमुकाम खलङ्गा जाने क्रममा तुइन तर्दै गर्दा एसएसबीको जवानले डोरी फुकालिदिएपछि धामी बेपत्ता भएका प्रत्यक्षदर्शीको भनाइ छ । त्यसको दुई दिनपछि साउन १७ गते सरकारले छानबिन समिति गठन गरेको थियो । यसबीचमा समितिले दार्चुला पुगेर स्थलगत अनुसन्धान गरेको थियो ।
समितिका सदस्यहरु घटनास्थलबाट फर्किएको दुई हप्ता भइसक्दा समेत प्रतिवेदन लेखनको काम सकिएको छैन । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले तेस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । तेस्रो पटकको म्याद (आज) मंगलबार सकिँदैछ । तर, प्रतिवेदन तयार नभएपछि फेरि म्याद थप्ने तयारी भैरहेको छ ।
यसबीचमा घटनाको वास्तविकता पत्ता लगाउन सरकारले भारतसित कुटनीतिक पहल गर्न सकेको छैन । छानबिन प्रतिवेदनमा अस्वाभाविक ढिलाइ गरेर सरकारले घटनालाई ढाकछोप गर्न लागेको भन्दै विरोध भइरहेको छ । छानबिन समितिका सदस्यहरुलाई प्रत्यक्षदर्शी तथा धामीका परिवारले एसएसबीले तुइनको डोरी फुस्काइदिएपछि धामी महाकालीमा बेपत्ता भएको बताएका छन् ।
प्रत्यक्षदर्शीकै भनाइलाई आधार मानेर प्रतिवेदन तयार गर्ने काम भइरहेको बुझिएको छ । तर प्रतिवेदन आएपछि तत्काल भारतसँग यसबारे कुरा गर्न दबाब पर्ने भएकाले सरकारले प्रतिवेदनलाई अन्तिम रुप दिन जानाजान ढिलाइ गरेको आशङ्का भइरहेको छ । संसदको राज्य व्यवस्था समितिले प्रतिवेदन छिटो सार्वजनिक गर्न सरकारलाई निर्देशन दिइसकेको छ । यसबीचमा सरकारले धामीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।