जलचर प्राणी लोप हुँदै, स्थानीयवासी चिन्तित

रबि धिताल

अत्तरिया, १९ असोज: पछिल्ला केही वर्षयता कर्णालीलगायत सहायक नदीमा बस्ने जलचर प्राणी लोप हुँदै गएपछि स्थानीयवासी चिन्तित भएका छन् । कर्णाली नदीमा पाइने सहर जातिका माछा, स–साना भुरा माछा, घडियाल गोही, विश्वमै दुलर्भ मानिने डल्फिनलगायत लोप हुँदै गएका छन् । विगत २०÷२५ वर्षअघि कर्णाली नदीमा सहर (महाशेर) माछा छ्याप्छ्याप्ती पाइने गरेकामा अहिले निकै कम मात्रामा पाइने गरेको संरक्षणकर्मी बताउँछन् । कर्णालीमा २० देखि ३० किलोसम्मका सहर (महाशेर) माछा पाइने गरेकामा अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । कर्णालीमा जथाभावी माछा मार्ने गरेकाले जलचर प्राणी सङ्कटमा पर्दै गएकाले त्यसलाई रोक्नुपर्ने रानी जमरा कुलरिया जलसिँचाइ मूल कुला उपभोक्ता समितिका सचिव पर्शुराम चौधरीले बताउनुभयो ।

जलचर प्राणी लोप भएर जान थालेपछि तिनीहरुको संरक्षणका लागि विशेष नीति बनाएर कार्यान्वनमा ल्याउन पहल गर्नुपर्ने चौधरी बताउनुहुन्छ । पृथ्वीमा भएका अन्य प्राणीसरह बाँच्न पाउने अधिकार पानीमा बस्ने प्राणीको भएकाले तिनीहरुको संरक्षणका लागि पहल गर्नुपर्ने उहाँले बताउनुभयो । पर्यटन व्यवसायी थर्कबहादुर शाहका अनुसार सहर प्रजातिका माछाको सङ्ख्या घट्दै गएकाले कैलालीका सबै नदी खोलामा माछा मार्ने कार्यमा रोक लगाउनुको विकल्प छैन । जाल हानेर र विषादी प्रयोग गरेर माछा मार्न थालेपछि जलचर प्राणी सङ्कटमा पर्दै गएका छन् ।

सहर माछा, डल्फिन, घडियाल, ओतरको आहारा स–साना माछाका भुरा भएकाले भुरा पनि मानवीय गतिविधिका कारण कम हुन थालेको रानी जमरा कुलरिया सिँचाइ कुलो समितिका अध्यक्ष लालवीर चौधरीले बताउनुभयो । कर्णालीमा मात्रै होइन सो नदीमा मिसिने मोहनालगायत अन्य सहायक नदीनालामा पानीको सतह बढेका बेला सहर माछा, डल्फिन, घडियाल, ओतर देखिने गरेको डल्फिन संरक्षण केन्द्र कैलालीका सचिव विजयराज श्रेष्ठले जानकारी दिनुभयो । जथाभावी माछा मार्ने प्रचलनले गर्दा सहर माछा, डल्फिन, घडियाल, ओतरजस्ता पर्या–पर्यटनका लागि महत्वपूर्ण मानिने जलचर प्राणी लोप हुनु दुःखद् भएको उहाँको भनाइ छ । सहर माछा, डल्फिन, घडियाल, ओतरजस्ता पानीजन्य प्राणीको संरक्षणका लागि जनस्तरबाटै लाग्नुपर्ने श्रेष्ठ बताउनुहुन्छ ।
-रासस

प्रतिक्रिया